माणिग्रम कार्तिक २

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । स्कन्दमाता नवदुर्गा मध्य पाँचौ देवी हुन । नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्य-पति तारकासुरको वध गर्नुभएको थियो । स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेकोछ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुनुहुन्छ ।
स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त हुनुहुन्छ । देवी नाना प्रकारको आभूषण एवं अर्ध चन्द्र धारण गरेकी, देवी आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्नुहुन्छ, तर देवीमा कमलको आसनमा पनि बस्नु हुन्छ । देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ ।







