
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइँदैछ ।
नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । ‘अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । भोली दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लावा चढाइन्छ’, उनले भने, ‘सामान्यतया अगाडि सर्पनै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा पूजा गरिन्छ ।’
यसदिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छीलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको छ ।







