
कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउने भएकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । शेखको नेपाल भ्रमणका क्रममा दुवै देशलाई फाइदा हुने गरी विभिन्न मन्त्रालयसँग सम्बन्धित द्विपक्षीय सम्झौताहरु हुने प्रवक्ता शर्माले जानकारी दिइन् । यसैगरी तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्णा खाँणले तिलोत्तमा एफ लाई जानकारी दिदैे तिलोत्तमा नगरपालिकामा पनि सार्वजानिक विदा दिइएको बताउनु भएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेसम्मभित्र नेपाल आइपुग्ने तालिका छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।
यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् । उनी बुधबार स्वदेश फर्किनेछन् ।







