१३ फाल्गुन २०८०, आईतवार

सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा-रुबेलाविरुद्धको खोप अभियान शुरु गर्दैछ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज देखि पहिलो चरणको खोप अभियान सुरु भएको छ । आफ्नो पायक पर्ने स्थानमा गइ खोप लागाउनु पर्ने सरकारले जनाएको छ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२३ को लक्ष्यसमेत नभएपछि पुनः सन् २०२६ सम्ममा निवारण गर्ने अर्को लक्ष्य सरकारले निर्धारण गरेको छ । नियमित खोप अन्तर्गत दादुरा-रुवेला विरुद्धको दुवै मात्रा खोप लगाएका बालबालिकाले पनि अभियानमा खोप लगाउनु पर्ने स्वास्थ्य विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए ।दादुरा-रुवेलाको खोपको पहिलो मात्राले ८५ प्रतिशत, दुई मात्राले झण्डै ९५ प्रतिशत र तीन मात्राले शतप्रतिशतकै हाराहारीमा सुरक्षा प्रदान गर्ने भएकोले अभियानमा खोप लगाउन डा गौतमको सुझाव छ । खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको, अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तथा क्यान्सर लगायतका उपचार गराइरहेको अवस्थामा भने स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्ने डा अभियान गौतमले बताए ।