लुम्बिनी प्रदेश राजधानी देउखुरीमा शनिबार मगर संघको विशाल सभा हुने भएको छ । नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टा मगरले संघीयताको मूल मर्म अनुसार काम नहुँदा यसको विरुद्धमा आवाज उठ्न थालेको बताए । विभिन्न धार्मिक समूह तथा जातीय समूहको नाममा संघीयतामाथि प्रहार हुनुका साथै पहिचानको मुद्दालाई हराउन खोजिएको उनको आरोप छ । मगर समुदायको भाषा संस्कृति र पहिचानका लागि संघले विगतदेखि आन्दोलन गर्दै आएको बताउँदै उनले संघीयताको मर्म अनुसार आदिवासी जनजातीको अधिकार र पहिचान स्थापित हुन नसकेको उल्लेख गरे । मगर भाषा संस्कृतिको रक्षाका लागि यही समुदायबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरु समेत गम्भिर नभएको टिप्पणी गरे । शुक्रबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दांङमा हुने नेपाल मगर संघको बृहत मगर जनसभा बारे जानकारी गराउन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विरकट्टाले मगर सांसदहरु मगरहरुको पक्षमा बोल्न नसकेको टिप्पणी गरे ।
© 2026: Lok Akhabar मा सर्वाधिकार सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal







