
रुपन्देही कार्तिक २१
छठको दोस्रो दिन आज व्रतालु ‘खरना’ विधिको तयारीमा छन्। आज बिहानै स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कुलदेवता र छठी देवीलाई चढाइ व्रतालुले खाने परम्परा छ। यही विधिलाई खरना भनिन्छ।
पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यसलाई मिथिलामा ‘साझँके अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ।
यसैवीच
रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्तिक २३ गते शुक्रबार स्थानीय विदा दिएको छ । यस क्षेत्रको विशेष पर्व छठको अवसरमा बिहानीमा सूर्यलाई अर्घ दिने प्रचलन रहेको हुँदा शुक्रबार विदा दिइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । गाउँपालिकाको कार्तिक २१ गतेको निर्णय अनुसार शुक्रबार रोहिणी गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक बाहेक) र सम्पूर्ण शैक्षिक संस्थाहरुमा विदा रहने अध्यक्ष यादवले जानकारी दिए । अध्यक्ष यादवले छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको शुभकामना समेत व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा संघीय सरकारले बिहीबार (भोली) देशभर सार्वजनिक विदा दिएको छ ।







