कात्तिक १७, २०८० शुक्रबार

 

(काठमाण्डौ ) सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ । भिटामिन ए र जुकाको औषधी खुवाउन आफ्नो नजिकको पायक पर्ने स्थानमा गएर अनिवार्य खुवाउन सरकारले अग्रह समेत गरेको छ ।